बोस्टन कलेजको एमबिए दीक्षान्त : देशमै उद्यम गर्न विद्यार्थीहरुलाई आग्रह

भरतपुर । बोस्टन इन्टरनेसनल कलेज भरतपुरले स्नातकोत्तर तह एमबिएका विद्यार्थीहरुको दीक्षान्त समारोह सम्पन्न गरेको छ । २०२० का एमबिएका दुई चरणका ४४ जना विद्यार्थीहरुको दीक्षान्त समारोह सम्पन्न भएको हो ।

बोस्टन इन्टरनेसनल कलेजका अध्यक्ष आनन्दबहादुर चन्दको अध्यक्षतामा भएको दीक्षान्त समारोहमा प्रमुखअतिथि पोखरा विश्वविद्यालयका रजिष्ट्रार डा. दीपकबहादुर भण्डारी रहेका थिए । कार्यक्रममा प्रमुखअतिथि भण्डारीले एमबिए सकेका विद्यार्थीहरुलाई स्वदेशमै बसेर उद्यम गर्नलाई सुझाव दिएका थिए । ‘युवा सबै विदेश पलायन भए देश बन्न सक्दैन, तपाईं युवाहरु हुनुहुन्छ देश बनाउन, स्वदेशमै बसेर उद्यम गर्नुहोस्’’ रजिष्ट्रार डा. भण्डारीले भने, ‘नेपालमा जति अवसर छ त्यो विदेशमा छैन ।’

समारोहमा नबिल बैंकका डेपुटी सिइयो मनोज ज्ञवालीले नेपालमा म्यानेजमेन्ट (व्यवस्थापन) सङ्कायमा जति अवसर अन्यत्र नभएको बताए । उनले भने, ‘एउटा डाक्टरले अस्पताल खोल्छ, त्यो सञ्चालनका लागि म्यानेजमेन्ट नै चाहियो, कृषि पढेर कृषि उद्यम चलाउँछ भने त्यहाँ पनि म्यानेजमेन्ट चाहियो, जे गरे पनि म्यानेजमेन्ट चाहिन्छ । बजार, बैंक, व्यवसाय हरेक क्षेत्रमा म्यानेजमेन्ट चाहिन्छ, जसका कारण म्यानेजमेन्ट पढ्ने विद्यार्थी बेरोजगार बस्ने त कुरै आउँदैन, छानीछानी राम्रो अवसर मात्र छोप्ने हो ।’

दीक्षान्त समारोहमा डा. कल्याणी मिश्र त्रिपाठीले आफ्नै देशमा भविष्य खोज्न विद्यार्थीहरुलाई आग्रह गरेकी थिइन् । कार्यक्रममा प्रोफेसर ऋषिराम कँडेल, एमबिए गरेका विद्यार्थीहरु राजदीप ओझा, मनीषा तिवारीलगायतले मन्तव्य दिएका थिए ।

कार्यक्रममा एमबिए कोअर्डिनेटर जगदीश तिमिल्सिनाले बोस्टन कलेजबाट हालसम्म एमबिएमा १८५ जना दीक्षित भइसकेको बताए । उनका अनुसार २०१७ बाट बोस्टन कलेजले एमबिए सञ्चालन गरेको थियो । कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले बोस्टन कलेजमा स्नातकतर्फ बिबिए, बिबिए बिआई, बिसिएस आइटी र स्नातकोत्तरतर्फ एमबिएका कक्षाहरु सञ्चालन भएको बताए । कार्यक्रममा विद्यार्थी तथा अतिथिहरुलाई मायाको चिनो वितरण गरेका थिए ।

कलेजले एकेडेमिकबाहेक शैक्षिक गुणस्तर वृद्धिका लागि विभिन्न अतिरिक्त क्रियाकलापको साथमा आवासीय कार्यशाला, उद्यमशीलता प्रवद्र्धन, शैक्षिक भ्रमण, देशभित्र र बाहिरका वित्तीय कम्पनीहरुमा इन्टर्नसिपजस्ता विद्यार्थीकेन्द्रित क्रियाकलापहरु सञ्चालन गर्दै आइरहेको छ ।

#दीक्षान्त समारोहमा अतिथि तथा विद्यार्थीहरु ।

 

Source: https://echitwanpost.com/219972/2023072210/48/27/

Leave a Reply