पोखरा विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहको पाठ्यक्रम परिमार्जन गर्ने

पोखरा विश्वविद्यालयले स्नातक तह र स्नातकोत्तर तहको पाठ्यक्रम परिमार्जन गर्ने भएको छ । यसअघिको पाठ्यक्रम समय सान्दर्भिक र उद्योग कलकारखानामैत्री नभएको भन्दै विश्वविद्यालयले वर्तमान श्रम बजारलाई मध्यनजर गर्दै पाठ्यक्रम परिमार्जन गर्न लागेको हो ।

विश्वविद्यालयले पाठ्यक्रम परिमार्जन गर्ने विषयमा मंगलबार उद्योग क्षेत्र तथा वित्तीय क्षेत्र, शैक्षिक क्षेत्र, उत्पादनशीललगायत सरोकारवालासँग अन्तरक्रियासमेत गरेको छ । वर्तमान समयको माग र उद्योग कलकारखानाले खोजेजस्तो जनशक्ति उत्पादनका लागि पाठ्यक्रम नै परिमार्जन गर्न आवश्यक देखिएकाले संशोधन गर्न लागिएको विश्वविद्यालयका व्यवस्थापनतर्फका प्रमुख प्राडा.महानन्द चालिसेले जानकारी दिए । उनका अनुसार पाठ्यक्रम परिमार्जनबारे उद्योग व्यवसायी, बैंकर्सलगायत सीप तथा रोजगारीमूलक क्षेत्रका व्यक्तिको धारणा बुझ्न अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको हो । हालको एकेडेमिक जनशक्ति उद्योगहरूले माग गरेअनुसारको नभएको गुनासो आउन थालेपछि त्यसलाई समेट्न अन्तक्र्रिया गरिएको उनको भनाइ छ । ‘उद्यमशीलता र हाम्रो एकेडेमिक जनशक्तिको दूरी कम गर्न पाठ्यक्रम संशोधन गर्न लागेका हौँ । अहिले सरकार, विश्वविद्यालय र उद्यमीबीच ठूलो खाडल छ । यसलाई घटाउन आवश्यक छ,’ उनले भने ।

यसअघि स्नातक र स्नाकोत्तर तहको पाठ्यक्रमबारे पोखरा र त्रिभुवन विश्वविद्यालयले गरेको अध्ययनले पनि पाठ्यक्रम कमजोर भएको निष्कर्ष निकालेको थियो । सोअनुसार पोखरा विश्वविद्यालयले पाठ्यक्रम परिमार्जन गर्न लागेको हो । नयाँ पाठ्यक्रम कोर्स, मोडेल, पेडागोजी, टिचिङ मेथोड आदिका आधारमा तयार पारिनेछ । विश्वविद्यालयका डा.बाबुराम भट्टराईले उद्योग क्षेत्रको आवश्यकता विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै पाठ्यक्रम परिमार्जन गर्न लागिएको बताए ।

अन्तरक्रियामा व्यवसायी तथा उद्योगीहरूले बजारमा बिक्ने र आफूहरूले चाहेजस्तै जनशक्ति हुनुपर्ने धारणा राखेका थिए । बैंकर प्रदीप पराजुलीले उद्योगले लिन सक्ने जनशक्ति विश्वविद्यालयले उत्पादन गर्नुपर्ने बताए । व्यवसायी मोहन ओझाले ५० प्रतिशत प्रयोगात्मक र ५० प्रतिशत सैद्धान्तिक विषयलाई आधार मानेर पाठ्यक्रम तयार पार्न सुझाव दिँदै यसो गरे उद्योगहरू विद्यार्थी खोज्ने कलेज–कलेजमा पुग्न सक्ने धारणा राखे । उद्योगी शेखर गोल्छाले विश्वविद्यालय र व्यावसायिक क्षेत्रले सहकार्य गरेर अघि बढेमा दुवै क्षेत्रलाई फाइदा पुग्ने बताए ।

अब नयाँ विद्यार्थी भर्ना गर्दा नयाँ पाठ्यक्रम लागू गरिनेछ । दसैँतिहारलगत्तै नयाँ पाठ्यक्रम लागू गरिएपछि भर्ना हुन आएका विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार अध्ययन गर्नुपर्नेछ । विश्वविद्यालयका व्यवस्थापन संकायतर्फका डिन डा. दयाराज ढकालले उद्योग तथा व्यावसायिक क्षेत्रले खोजेजस्तो जनशक्ति उत्पादनका लागि पाठ्यक्रम परिमार्जन गर्न लागिएको जानकारी दिए । हाल पोखरा विश्वविद्यालयमा ७३ हजार विद्यार्थी छन् । यसमध्ये १० हजारभन्दा बढी विद्यार्थी व्यवस्थापन संकायमा अध्ययनरत छन् । पोखरा विश्वविद्यालयको आंगिक र सम्बन्धनप्राप्त क्याम्पस संख्या दुई सयभन्दा बढी छ ।

 

Source: पोखरा विश्वविद्यालयले स्नातक र  स्नातकोत्तर तहको पाठ्यक्रम परिमार्जन गर्ने (nayapatrikadaily.com)

Leave a Reply