क्यानडाका प्राध्यापक डा. आचार्यद्वारा भरतपुरमा प्राज्ञिक अनुसन्धानसम्बन्धी अभिमुखीकरण

चितवन, असार ४-

क्यानडाको ओटवा विश्वविद्यालयका प्राध्यापक तथा सञ्चार विज्ञ डा. भानुभक्त आचार्यले भरतपुरमा प्राध्यापकहरुलाई अनुसन्धान पद्धतिबारे अभिमुखीकरण गराएका छन् ।

बोस्टन इन्टरनेशनल कलेजको आयोजनामा आज भएको प्राज्ञिक विकास कार्यक्रम ‘फ्याकल्टी डेभलभमेन्ट प्रोग्राम’ अन्तर्गत कलेजमा अल्पकालिन र पूर्णकालिन प्राध्यापकहरुलाई आचार्यले सो अभिमुखीकरण गराएका हुन् ।

आचार्यले विशेष त अनुसन्धानमा सन्दर्भ सामग्रीको समीक्षा, अनुसन्धान पद्धति, विकसित देशमा गरिने प्राज्ञिक अनुसन्धानमा गरिने नयाँ प्रविधिको प्रयोगबारे जानकारी गराएका छन् । उनले अनुसन्धानमूलक लेख लेख्दा अपनाउनुपर्ने नैतिक पक्ष, सिद्धान्त र अनुसन्धान विधिबीचको तालमेल, अनुसन्धान ढाँचाको निर्माणबारे अभिमुखीकरण गरेका थिए । बोस्टन इन्टरनेशनल कलेज अनुसन्धान विभागका प्रमुख डा पोष्टराज पोखरेलले संयोजन गरेको कार्यक्रममा २४ जना प्राध्यापकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कलेजका एशोसिएट डाइरेक्टर पुष्पराज अधिकारी, एमबीए कार्यक्रम संयोजक जगदिश तिमिल्सिना र दिवा कार्यक्रम संयोजक नविन श्रेष्ठको सहभागिता रहेको थियो ।

डा आचार्य क्यानडामा बिगत दुई दशकदेखि रहेर विश्वका विभिन्न विश्वविद्यालयका जर्नलहरुको सम्पादन गर्नुका साथै मिडिया अनुसन्धान, प्राध्यापन र लेखनमा सक्रिय रहेका छन् ।  उनको सम्पादनमा शनिबार काठमाडौँमा विश्वव्यापी परिप्रेक्ष्यमा नेपालका सञ्चारमाध्याम र पत्रकारिता क्षेत्रको अवस्थितिबारे विस्तृत अध्ययन समेटिएको पुस्तक ‘ग्लोबल प्रस्पेक्टिभ अन जर्नालिजम इन नेपाल’ को नेपाली संस्करण सार्वजनिक भएको छ । यसको बेलायती संस्करण यसअघि नै सार्वजनिक भइसकेको थियो । नेपालको पत्रकारिता र सञ्चारमाध्यमका समसामयिक अभ्यासमा केन्द्रित अनुभवजन्य अध्ययन, आलोचनात्मक समीक्षा, सैद्धान्तिक र दार्शनिक विश्लेषणसहितका विषयवस्तु पुस्तकमा समेटिएका छन् ।

पत्रकारिता र सञ्चार क्षेत्रका २१ जना लेखकका शोधपूर्ण लेख समेटिएको यो पुस्तक भानुभक्त आचार्य र श्याम शर्माले सम्पादन गरेका हुन् । सम्पादक भानुभक्त आचार्यले नेपाललाई ‘केसस्टडी’ बनाएर विश्व परिवेशमा आधारित भई पुस्तकका विषयवस्तु राखिएको बताए । उनले भने,‘नेपालको पत्रकारिताले संसारलाई भन्नुपर्ने केही कुरा छन् भन्ने लागेर यो पुस्तक लेखन सुरु भएको थियो । पुस्तकका विषयवस्तु नेपाली पाठकलाई भन्दा पनि अन्तर्राष्ट्रिय जगत्लाई जानकारी दिने उद्देश्य हो ।’

पुस्तकमा भानुभक्त आचार्य, श्याम शर्मा, श्रीमन शर्मा, समीक्षा कोइराला, लक्ष्मण हुमागाईँ, तुलसी आचार्य, भगीरथ योगी, जगन कार्की, रामकृष्ण रेग्मी, सुजीना शाक्य, पियुष मिश्र, कुन्दन अर्याल, कवि अधिकारी, लेखनाथ पाण्डे, उषाकिरण रेग्मी, सन्देशदास श्रेष्ठ, हर्षमान महर्जन, विमला थपलिया, प्रवेश सुवेदी, रामहरि तिमिल्सिना र पूर्णबहादुर नेपालीका शोधपूर्ण लेख समेटिएका छन् । चार भागमा रहेको पुस्तकमा फरक–फरक विषयका १८ वटा अनुसन्धानमूलक लेख समावेश छन् ।

 

Source: https://narayanionline.com/2023/06/254966/?fbclid=IwAR1-nKSSLZorG8i6ry2IlxFTyFkEGd3ScVNBZk39DgXsshFpRszDBKhWwqE 

Leave a Reply