चितवनको बोष्टन कलेजमा असार ३० र ३१ गते ‘बोस्टन फियस्टा’ हुने

चितवनको भरतपुरमा रहेको बोष्टन कलेजमा असार ३० र ३१ गते ‘बोस्टन फियस्टा’ हुने भएको छ । कलेजमा स्नातक र स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरुले प्रत्येक बर्ष आयोजना गर्दै आएको ‘बोस्टन फियस्टा’ यस बर्ष पनि हुन लागेको हो ।
आज (बिहिबार) कलेजमा आयोजित पत्रकार सम्मेलन मार्फत कार्यक्रमको बारेमा जानकारी दिइएको छ । विद्यार्थीहरुलाई व्यवस्थापन विषयमा व्यवहारिक ज्ञान सिकाउने उदेश्यले आयोजना गर्न लागिएको ‘बोस्टन फियस्टा’ मा विभिन्न कार्यक्रम संचालन हुनुका साथै विद्यार्थीहरुले आफ्नो कला प्रर्दशन गर्नेछन् ।

२०१८ र २०१९ मा ‘बोस्टन फियस्टा’ कार्यक्रम सम्पन्न भइसकेको छ । त्यसपश्चात कोरोनाका कारण कार्यक्रम हुन सकेन । दुई बर्षपछि हुन लागेको कार्यक्रम भव्य रुपमा सम्पन्न गरिने कार्यक्रम संयोजक सुभास अर्यालले जानकारी दिनुभयो । विद्यार्थीद्धारा आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई नै प्राथमिकता दिँदै विभिन्न व्यवसायीक स्टलहरु राखिने उहाँले बताउनुभयो । कार्यक्रममा विभिन्न संस्कृतिका पोसाकमा सजिएर विद्यार्थीले गतिविधिहरु गर्ने संयोजक अर्यालको भनाई छ ।
कार्यक्रमको प्रचार प्रसारका लागि नारायणी किनार,सौराहा गैडा चोक र पर्सा चोकमा विभिन्न झलकहरु प्रस्तुत गरिने छ । ‘बोस्टन फियस्टा’ को दोस्रो दिन ३१ गते कलेजका विद्यार्थीको प्रस्तुतीका साथै विभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहनेछ । कार्यक्रममा लोकप्रिय गायिका रचना रिमालको प्रस्तुतिका साथै व्यान्ड,स्ट्यान्डअप कमेडी र डिजेको समेत मनोरन्जन र सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रमको पहिलो दिन सुरज शाक्य र अभिषेक बरियाद्धारा व्यक्तित्व विकास कार्यक्रम समेत अयोजना गरिएको छ ।

Source: https://narayanionline.com/2022/07/07/193334/?fbclid=IwAR3qClHr7nZnEOz5LIhJMy3mZMKj65XnSljndoF5_BpbxMbdKD3L_feS7rg

Leave a Reply