चितवनमा बोस्टन कलेजको भिजन–२०२७ सार्वजनिक, एक करोड रूपैयाँ छात्रवृत्तिको घोषणा

चितवन, कात्तिक २-

भरतपुरको बोस्टन इन्टरनेशनल कलेजले नयाँ योजना ‘बीआईसी भिजन–२०२७’ सार्वजनिक गरेको छ ।
बोस्टन इन्टरनेशनल कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले भरतपुरमा मंगलबार साँझ भएको पत्रकार सम्मेलनमा नयाँ योजना‘बीआईसी भिजन–२०२७’ सार्वजनिक गर्नु भएको हो । यस योजनाअनुसार कलेजले प्रत्येक वर्ष एक करोड रूपैयाँको छात्रवृत्ति वितरण गर्ने योजना बनाएको छ ।
कलेजको आगामी मार्गबारे प्रकाश पार्दै कलेजका अध्यक्ष चन्दले आगामी पाँच वर्षमा अनुसन्धान विभागलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्नको लागि स्तरोन्नति गर्ने लक्ष्य लिइएको बताउनुभयो । प्रत्येक दुई वर्षमा अन्तर्राष्ट्रिय अनुसन्धान सम्मेलन गर्दै लैजानेसमेत उहाँको योजना छ । उहाँले भन्नुभयो, ‘ विद्यार्थीलाई व्यवसायिक र उद्यमी बनाउने उद्देश्यले कलेजले अबको पाँच वर्षमा अनुसन्धान विभागलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने र कलेजको बीआईसी जर्नल अफ म्यानेजमेन्टलाई क्यू ३ स्तरमा स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ । पाँच वर्षभित्रमा १०० बढी सामुदायिक विद्यालयका शिक्षक, शिक्षिकाहरुलाई शैक्षिक गुणस्तर सुधार सम्बन्धी एवम् वृत्ति विकाससम्बन्धी तालिम दिने हाम्रो लक्ष्य छ ।’

कलेजका शैक्षिक कार्यक्रम निर्देशक डा. विष्णु परियारले आउँदो पाँच वर्षमा २०० भन्दा बढी कम्पनीहरूसँग आवद्ध भई विद्यार्थीलाई आवश्यक औद्योगिककरणमा लैजाने योजना रहेको जानकारी दिनुभयो । यसै वर्षदेखि ९० प्रतिशत विद्यार्थीलाई दीक्षित गराई शतप्रतिशत रोजगारको व्यवस्था गराउनेसमेत उहाँले दाबी गर्नुभयो । पत्रकार सम्मेलनमा कलेजका अनुसन्धान निर्देशक डा पोष्टराज पाखरेल र कलेजका कार्यकारी निर्देशक राजु लामाको उपस्थिति रहेको थियो । आज भन्दा १३ वर्ष अगाडि सन् २००९ मा स्थापना भएको बोस्टन इन्टरनेशनल कलेजले पोखरा विश्वविद्यालयअन्तर्गत एमबीए, बीबीए, बीबीए–बीआई र बीसीआईएसका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । कलेजले विश्वका उत्कृष्ट विश्वविद्यालयको मोडलमा आफूलाई अध्ययन तथा अनुसन्धानको केन्द्रको रुपमा विकास गर्ने लक्ष्यका साथ नयाँ योजना ल्याएको हो ।

Source: https://narayanionline.com/2022/10/19/212745/?fbclid=IwAR3YmoTeWyT-YkSfiaqDSZFVzjr-LluYLjrzCiAE6DzWMKsbZbWRjGJMw4I

Leave a Reply