बोस्टन कलेजले सिकायो शेयरको प्राथमिक निष्काशनमा आबेदन दिने तरिका

भरतपुर, २२ कार्तिक

चितवनको बोस्टन ईन्टरनेशनल कलेज अन्तर्गत स्थापना भएको ‘बोस्टन उद्यमशीलता तथा नेतृत्व केन्द्र” ले आज ‘जुम’ सफ्टवयरको माध्यमबाट “शेयरको प्राथमिक निष्काशनमा कसरी आबेदन दिने?” भन्ने विषयमा कार्यक्रम सम्पन्न गरेको छ। बिहान १०:०० बजेदेखि ११:२० बजेसम्म चलेको कार्यक्रममा ‘बेटा एनालाईटिक्स्’ का सह-संस्थापक तथा रिर्सच एनालिस्ट बिक्रम चित्रकारले सेयर तालिम दिनुभएको क्लब संयोजक साङपु शाक्यले जानकारी दिनुभयो। आजको यस कार्यक्रममा बोस्टन उद्यमशीलता तथा नेतृत्व क्लबकी सदस्य स्यारोना क्षेत्रीले कार्यक्रम सञ्चालकको भुमिका निर्वाह गर्नुभएको थियो।

सह-संस्थापक बिक्रम चित्रकारले कार्यक्रममा करिब ६० मिनेट बोल्नु हुँदै प्राथमिक निष्काशन (आईपीओ) को मुख्य उद्देश्यबाट सुरू गर्नुभएको थियो। प्राथमिक र दोस्रो बजार भनेको के हो, प्राथमिक निष्काशनमा आवेदन दिनका लागि के के गर्नुपर्छ, सेयर किनबेच कसरी गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिनुभयो। त्यसैगरी प्राथमिक बजारलाई लगानीको पहिलो पाइला भनिने र प्राथमिक बजारमा जोखिम कम हुने तर दोस्रो बजारमा भने जोखिम बढी हुनुका साथै घाटा हुने पनि बताउनुभयो। आईपीओमा सेयर भर्नका लागि चहिने पूर्व सर्तहरु बैंक खाता, डिम्याट खाता,सी-अस्बा सेवा र मेरो सेयर खाता अध्यावधिक हुनु पर्ने पनि उहाँले स्पष्ट पार्नुभयो। आईपिओ खुल्ने बित्तिकै संस्थाले सूचना जारी गर्ने र हामीले आईपीओ भर्न बैँक खाता सक्रिय हुनुपर्ने, केवाइसि अपडेट हुनुपर्नेका साथै इ-बैँकिङ पनि तयार हुनुपर्ने र बाँडफाँड पश्चास सेयर, सामूहिक लगानी कोष, ऋणपत्रहरु समेत सिधै डिम्याट खातामै जम्मा हुने पनि उहाँले उल्लेख गर्नुभयो।

कार्यक्रममा सहभागीहरूले आईपीओ भर्दा अयोग्य हुने वा स्वीकृत नहुने अवस्था के-कस्तो छ? आईपीओको लागि बिड कसरी गर्ने? मेरो शेयरको साईटमा करेन्ट राइट भनेको के हो? आईपीओमा किनेको सेयर दोस्रो बजारमा बेच्दा ब्रोकरले केही शुल्क लिन्छ कि लिँदैन? आईपीओमा घोटाला हुन्छ कि हुदैन? ब्रोकरसँग हाम्रो डाटा हुन्छ कि हुदैन? जस्ता प्रश्नहरु सोध्नुभएको थियो।

सहभागीका प्रश्नहरुको उत्तर दिँदै अतिथि चित्रकारले आईपीओ भर्दा अयोग्य हुने वा स्वीकृत नहुने अवस्था भनेको बैंकमा पैसा नहुनाले, दुईचोटी भन्दा बढी फाराम भरेमा, र एकै व्यक्तिले दुईवटा डिम्याट खाता बाट आवेदन दिएमा आवेदन रद्द हुने जानकारी दिनुभयो। त्यस्तै आइपियोमा बिड कसरी गर्ने भनेर कम्पनिले नै उल्लेख गर्ने बताउनुभयो। प्राय कम्पनीले आईपीओमा सेयरको मूल्य रु.१०० तोकेको हुन्छ, मेरो शेयरको साईटमा करेन्ट राइट भनेको चाहिँ नेपालीमा हकप्रद शेयर भनिन्छ र यसमा शेयर होल्डरले मात्र आवेदन भर्न मिल्ने हुन्छ। त्यस्तै गरी उहाँले तपाईंले ब्रोकरको प्लेटफर्म लिनु भएको छ भने, ब्रोकरलाई केही प्रतिशत कमिसन दिनुपर्ने हुन्छ र तपाइँले नाफा कमाउनु भएको छ भने कर तिर्नुपर्ने हुन्छ। त्यस्तै अर्को प्रश्नमा घोटाला हरेक क्षेत्रमा हुने भएकोले यहाँ पनि हुँदैन भन्न सकिँदैन। ब्रोकरसँङ हाम्रो कुनै पनि डाटा हुँदैन किनभने हामीले शेयर किनबेच गर्ने भनेको बैंकको माध्यमबाट हो।

उक्त कार्यक्रममा बोस्टन कलेज लगायत समुदायबाट गरि करिब ८५ जना भन्दा बढीको प्रत्यक्ष सहभागिता रहेको थियो र बोस्टन उद्यमशीलता तथा नेतृत्व केन्द्रको फेसबुक पेजबाट पनि प्रत्यक्ष प्रसारण गरिएको थियो। त्यस्तै गरी कार्यक्रमको अन्त्यमा बोस्टन उद्यमशीलता तथा नेतृत्व केन्द्रकी सदस्य रिया ओझाले धन्यवाद मन्तव्य व्यक्त गर्दै कार्यक्रममा योगदान पुर्‍याउने सबैको प्रशंसा गर्नुभएको थियो।

Source: http://kalikanews.com/news/136064

Leave a Reply