बोष्टन कलेजद्धारा नवउद्यमी विद्यार्थीका लागि उद्यम विकास सम्बन्धी अभिमुखिकरण

चितवन, २४ बैशाख ।
भरतपुर स्थित बोष्टन ईन्टरनेशनल कलेजको उद्यमशीलता विभाग अन्तरगतको ‘बीआईसी स्टार्टअप्स’ले नवउद्यमी विद्यार्थीहरुका लागि नव उद्यम विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । चितवन उद्योग संघको ‘औद्योगिक पाठशाला’ हलमा कलेजले नवउद्यमी विद्यार्थीहरुको तेस्रो कोहर्टको लागि अभिमुखीकरण कार्यक्रम गरेको हो । कार्यक्रम बोष्टन कलेज, चितवन उद्योग संघ, कृषि तथा वन विज्ञान विश्वविद्यालय र स्किल ल्याबको सह–आयोजनामा भएको थियो ।

सो कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका उप–प्राध्यापक राम हरी तिमिल्सिनाले उद्यमशीलतामा ‘मेन्टर’को महत्वका बारेमा प्रकाश पार्नुभएको थियो । चितवनको सन्दर्भमा उहाँले पोल्ट्री, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रमा अथाह सम्भावना रहेको बताउनुभयो । उहाँले चितवन ४ वटा अन्तराष्ट्रिय विमानस्थलको विचभागमा पर्नु यहाँको उद्यमशीलता विकासको लागी वरदान सावित हुने दावी गर्नुभयो । त्यसमा हामीले व्यवसायको प्रोमोसन अर्थात मार्केटिङ गर्नको लागी पनि सिक्नुपर्ने उहाँको भनाई छ ।

चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले राज्यले अनुदान भन्दा पनि नीति निर्माणबाट उद्यमीलाई सहजीकरण गरिदिनुपर्ने धारणा राख्नुभयो । नीति निर्माणमा सुझावहरु दिएको उद्योग संघको भुमिकालाई उद्दृत गर्दै उहाँले राज्यले नीति, मापदण्ड, गुणस्तर मापन, लगायतका कामहरुबाट सहयोग गरेमा उद्यमीहरुले आफ्नो व्यवसायलाई प्रवर्धन एवम विस्तार गर्न आफै सक्षम हुने कुरा बताउनुभयो ।
‘उद्योग भ्रमण र नवउद्यमीलाई पुँजी लगानी’ गर्ने कुरामा चितवन उद्योग संघको भुमिकाबारे बोल्दै उहाँले, नवउद्यमीले चाहेका उद्योगको भ्रमणमा सहजीकरण एवम् पुँजी लगानी गर्न चितवन उद्योग संघ तत्पर रहेको जानकारी दिनुभयो । करिब ११०० उद्योगहरु आवद्ध रहेको चितवन उद्योग संघले उद्यमीलाई प्रोजेक्ट लेखनमा तालिम समेत दिने गरेको कुरा स्मरण गराउनुभयो । उहाँले नवउद्यमी विद्यार्थीहरुलाई जिज्ञासा, प्रस्ताव र सल्लाह सुझावको लागी नवउद्यमीले आफैले पहल गरेको खण्डमा संघबाट पूर्ण रुपमा सहयोग हुने प्रतिबद्धता समेत जनाउनुभयो ।

कार्यक्रममा बीआईसी स्टार्टअप्सका प्रमुख प्रेम गैरेले ‘उद्यमी विकास कार्यक्रम ३’ मार्फत नवउद्यमीलाई कसरी उद्यमशीलतामा प्रशिक्षण, मेन्टरिङ्, काम गर्नको लागी अफिस र बिउ पुँजी प्रदान गर्दछ भन्ने अवधारणा र योजना प्रस्तुत गर्नुभएको थियो । विगतका दुई सत्रहरुको अनुभवलाई आधार बनाई नयाँ मोडेलको अवधारणा सञ्चालनमा ल्याईएको पनि उहाँले जानकारी दिनुभयो ।

सो कार्यक्रममा बोष्टन कलेज र कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट गरी १७ जना उद्यमी विद्यार्थीको उपस्थिति थियो । उपस्थित मध्येबाट तीनवटा टिमले आफ्नो नवउद्यमको बारेमा छोटकरीमा प्रस्तुति दिएका थिए । कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थीको समुहले ‘एकीकृत कृषि’ मा आधारित उद्यमको मोडेल प्रस्तुत गरेका थिए भने, वोष्टन कलेजका दुई समुहले क्रमश कृषिमै आधारित सुकाएको तरकारीको बजारीकरण गर्ने र वास्नादार मैनवत्ति उत्पादन गर्ने व्यवसायिक योजना प्रस्तुत गरेका थिए ।

Source: https://www.kalikanews.com/news/164273

Leave a Reply